तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको नयाँ प्रशासनिक भवन तयार भएपछि आफ्नै भवनबाट सेवा दिन थालिएको छ । विगत ९ वर्षदेखि भाडाको घरबाट वडावासीलाई सेवा प्रदान गर्दै आएकोमा भवन बनेपछि सेवा सुरु भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले प्रशासनिक भवनको उद्घाटन गर्दै जिल्लाका स्थानीय तहहरूको भौतिक पूर्वाधार विकासमा आफू सकारात्मक रहेको भन्दै जिससले लगानी गरेको बताउनुभयो ।

त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट नागरिकलाई थप व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

ग्रीनतारा कन्स्ट्रक्सन कम्पनी प्रा.ली.द्वारा निर्माण गरिएको उक्त भवन २०८१ साल साउन १९ गते ठेक्का सम्झौता गरी २०८२ साल जेठ ३० गते निर्माण सम्पन्न भएको वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो । भवन निर्माणमा भ्याटसहित एक करोड १४ लाख ३० हजार ७५६ रुपियाँको लागतमा निर्मित भवनका लागि आवश्यक बजेट जिल्ला समन्वय समिति सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिकाबाट विनियोजन गरिएको थियो । 

नयाँ प्रशासनिक भवन उद्घाटनसँगै नागरिकहरूलाई वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण समेत गरिएको कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ, नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा लगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको यस भवनबाट वडा सेवा अझ सुदृढ र व्यवस्थित हुने अपेक्षा स्थानीय सेवाग्राहीले गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button