पोखरामा ३२ जिल्लाका साइक्लिष्टहरु टुर दी पोखरामा सहभागी
पोखरा । पोखरामा ३२ जिल्लाका साईक्लिष्टहरु ‘टुर दी पोखरा’ साइकल र्यालीमा सहभागी हुनुभएको छ । साइकल सिटि पोखराको आयोजनामा पोखरादेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका २ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब ९ सय भन्दा बढी साईक्लिष्टहरु टुर दी पोखराको अभियानमा सहभागी हुनु भएको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

यस वर्षको टुर दी पोखरामा ४ वर्ष उमेर समूह देखि ८६ वर्ष उमेर समूहसम्मका, नेपालका ३२ जिल्लाबाट आएका करिब ९ सय जना साइकल यात्री (साईक्लिस्ट) हरू उक्त अभियानमा जोडिनुभएको उहाँले बताउनुभयो । साथै उक्त अभियानमा भारतसहित तेस्रो मुलुकका केही पर्यटकहरू समेत सहभागी हुनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त अभियानमा करिब ५० जना महिला साईक्लिस्ट सहभागी हुनुभएको उहाँले जनाउनुभयो ।
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको ‘टुर दी पोखरा’ साइकल र्यालीको आठौँ संस्करण शनिबार पोखराको सभागृहबाट सुरु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरामा साहसिक खेलकुदको विधामा पर्ने साइक्लिङको प्रबल सम्भावना रहेको दाबी गर्नुभयो । पोखराका आगामी दुई वर्षभित्र १ सय १७ किलोमिटरको साइकल लेन बनाउने योजना रहेको बताउनुभयो । उक्त अभियान सफल पार्न महानगरले यस वर्ष ७ लाख सहयोग गरेको बताउँदै मेयर आचार्यले लेक टु लेक साइकल ल्यान्ड बनाउने बताउनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको मुख्य प्रवद्र्धनमा उक्त कार्यक्रम भएको हो । टुर दी पोखराले साइकल मार्फत पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै हरित पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास गरिएको सचिव रामचन्द्र भट्टले बताउनुभयो । कार्यक्रममा विश्व साइकल यात्री, सामाजिक अभियन्ता तथा बौद्धिक अपाङ्गता भएका फरक क्षमताका साइकल यात्रीहरूको समेत उल्लेख्य सहभागिता रहेको उहाँले जनाउनुभयो । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लाल्चनले पोखरासहित अन्य क्षेत्रसम्म यसको विस्तार गर्न सके समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्