गाउँ नै अँध्यारोमा बस्न बाध्य
डडेल्धुरा । डडेल्धुरा जिल्लाका विभिन्न ग्रामीण बस्ती अँध्यारोमा बस्न बाध्य भएका छन् । बिद्युत् सुविधाबाट बञ्चित हुँदै आएका विभिन्न गाउँका एक हजार भन्दा बढी नागरिकहरू अहिलेसम्मै अँध्यारोमा बस्न बाध्य भएका हुन् । जिल्लाका सातवटै स्थानीय तहका १ हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराले जनाएको छ ।
बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिकहरू टुकी र सोलारको भरमा दैनिकी जीवन बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन ।
भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौंदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय खेमराज जोशीका अनुसार गाउँसम्म बिजुलीका पोल पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उहाँले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गर्नुभयो । उहाँका अनुसार गाडिएका पोलहरू हाल कपडा सुकाउने र घाँस राख्न प्रयोग भइरहेका छन् । यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय टेकबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेको छ भने सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको छ ।
डडेल्धुरा जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका भित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३ सय ८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन । आलिताल गाउँपालिकामा १ सय ८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १ सय ४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा एक सय घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १ सय ३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ ।
बाँकी १ हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले सबै नागरिकलाई विद्युत् पहुँचमा पुर्याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्