तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको सभामुखमा सात दलको तर्फबाट जसपाका यादवको उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेस प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज प्रदेश सभा सचिवालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार सिंह रहनु भएको छ भने समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनु भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यादव सात दलको समर्थनमा सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको हो । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट दुई पटक प्रत्यक्षमा प्रदेशसभामा निर्वाचित प्रदेश सभा सदस्य रहनु भएको छ ।

प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले अहिलेसम्म एउटा उम्मेदवारी मात्र परेको जानकारी दिनु भयो । सभामुखको उम्मेदवारीका लागि आज दिउँसो ३ बजेसम्मको लागि समय निर्धारण गरिएको जानकारी पनि सचिवले दिनु भयो ।

यस अघिका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएपछि उहाँ सभामुख पद मुक्त भएपछि प्रदेश सभाका सभामुख रिक्त रहेका थिए । सभामुख निर्वाचनको कार्यतालिका प्रदेश सभाले प्रकाशित गर्दै आइतबार सभामुखको चयन गर्ने कार्यक्रम रहेको छ ।

आजै बिहान मधेश प्रदेश सरकारमा रहेका सात दलीय गठबन्धनले सभामुख पदका लागि यादवको नाउँ सर्वसम्मति गरेका थिए । मधेश प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसले मुख्यमन्त्री पाएपछि दोस्रो ठूलो दलको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालले सभामुख पाएको छ ।

मधेश प्रदेश सरकारमा जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button