तपाईँ सुन्दै हुनुहुन्छः

धर्तीको स्वर्ग बडिमालिका : प्रगाढ भक्तिभाव, बाह्रै महिना कठिन यात्रा

बाजुरा।बाजुराको प्रमुख धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको बडिमालिका मन्दिर सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण शक्तिपीठका रूपमा परिचित छ।

बाजुरा जिल्लाको उत्तरी भेगमा समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा अवस्थित यस मन्दिरलाई शक्तिस्वरूपा देवी बडिमालिकाको वासस्थलका रूपमा श्रद्धालुहरूले गहिरो आस्था र विश्वासका साथ पूजा गर्दै आएका छन्।

पौराणिक मान्यताअनुसार बडिमालिका देवी शक्तिको अवतार मानिन्छिन्। देवीको कृपाले रोगव्याधि हट्ने, मनोकांक्षा पूरा हुने र घरपरिवारमा सुख–शान्ति कायम हुने विश्वास रहँदै आएको छ। हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) विशेष मेला लाग्ने गर्दछ। उक्त मेलामा बाजुरा मात्र नभई अछाम, कालिकोट, दैलेख, डोटी, बझाङलगायतका जिल्ला तथा छिमेकी देश भारतका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु तथा तीर्थालुहरू मन्दिर दर्शनका लागि आउने गर्छन्। मेलाको समयमा धार्मिक अनुष्ठान, पूजाआजा तथा सांस्कृतिक गतिविधिहरूले यस क्षेत्रलाई थप जीवन्त बनाउने गरेको छ।

यद्यपि धार्मिक र ऐतिहासिक महत्व बोकेको बडिमालिका मन्दिर बाह्रै महिना पर्यटकका लागि सहज गन्तव्य बन्न सकेको छैन। मन्दिरसम्म पुग्ने बाटो दुर्गम र जोखिमपूर्ण रहेको छ। सदरमुकाम मार्तडी तथा बडिमालिका र त्रिवेणी नगरपालिकाका विभिन्न गाउँबाट पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। उकालो–ओरालो बाटो, साँघुरो गोरेटो तथा प्राकृतिक अवरोधका कारण यात्रुहरूले सास्ती भोग्नुपर्ने गरेको छ।

बडिमालिका–५ मनाका स्थानीय प्रेम विकका अनुसार वर्षायाममा पहिरो र खोलानाला बढ्ने तथा हिउँदमा अत्यधिक चिसो र हिउँपातका कारण वर्षभरि नै आवतजावत झन् जटिल बन्ने गरेको छ।

पूर्वाधारको अभाव, व्यवस्थित पदमार्ग, बासस्थान तथा स्वास्थ्य सेवाको कमीले गर्दा पर्यटकहरू सीमित समयमै मात्र मन्दिर पुग्ने गरेका पुजारी नेत्र उपाध्याय बताउनुहुन्छ। उहाँका अनुसार बडिमालिका मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सडक पहुँच, पर्यटकीय पूर्वाधार तथा प्रचार–प्रसारमा राज्यको विशेष ध्यान आवश्यक छ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वले भरिपूर्ण बडिमालिका मन्दिर हाल उचित पूर्वाधार र व्यवस्थापनको पर्खाइमा रहेको छ। आवश्यक लगानी र योजनाबद्ध विकास हुन सकेमा बडिमालिका मन्दिर देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button