भन्सार छलेर भित्र्याइएको ४ करोडभन्दा बढी मूल्यको सुपारीसहित दुई कन्टेनर नियन्त्रणमा

वीरगञ्ज। राजस्व छलेर भित्र्याइएको आशङ्कामा वीरगन्जबाट प्रहरीले ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८ सय बोरा सुपारी बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर-२ बाइपास सडकस्थित निशान्त रोनावतको उद्योगको गोदाम अगाडि रहेको दुईवटा कन्टेनर गाडीबाट बिहीबार प्रहरीले १ हजार ८ सय बोरा सुपारी बरामद गरेको हो ।
तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको उक्त परिमाणको सुपारी महोत्तरीको बर्दिबास पठाउनु पर्नेमा कन्टेनरबाट अनलोड गरेर वीरगन्जको गोदाममा भण्डारण गर्ने क्रममा प्रहरीले छापा मारेर बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक पाठककै नेतृत्वमा खटिएको टोलीले गोदाम अगाडि रोकेर राखेको ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरको कन्टेनर गाडीबाट ९ सय बोरा तथा गोदामभित्र भण्डारण गरिएको ९सय बोरा गरी कूल १ हजार ८ सय बोरा सुपारी बरामद गरेको हो ।
ती दुवै कन्टेनर गाडीका चालक द्वय बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० का ४१ वर्षीय रामभरोस महरा र जीतपुरसिमरा उपमहानगरकै वडा नम्बर-१९ का ५१ वर्षीय रामप्रसाद यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिनुभयो ।
बरामद गरिएको सुपारी सहित दुई वटा कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो ।
वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको उक्त सुपारीको कागजातमा अन्तिम गन्तव्य स्थान महोत्तरी लेखेको उल्लेख रहेकोमा सिधै महोत्तरी नपठाई कन्टेनर खोलेर गोदाममा भण्डारण गरेकाले शङ्कास्पद देखिएपछि प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्