तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा लगायत सुदूरपश्चिममा भुवा पर्व सुरु, बिहानैदेखि चाली नाचको रौनक

बाजुरा। बाजुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा दशैं–तिहारपछि दोस्रो ठूलो चाडका रूपमा मनाइने भुवा पर्व पुष कृष्ण औँसी अर्थात् आज शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ।

पौराणिक मान्यताअनुसार महाभारत कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको छ। भुवा पर्वले वीरता, विजय र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्ने विश्वास गरिन्छ।

भुवा पर्वको अवसरमा बाजुराका बुढीगंगा, बडीमालिका, त्रिवेणी र बुढीनन्दा नगरपालिका तथा गौमुल र खप्तड छेडेदह गाउँपालिकाका विभिन्न स्थानमा विशेष मेला लाग्ने गर्दछ। यस पर्वलाई स्थानीय तहले उच्च महत्व दिँदै अधिकांश पालिकाहरूले सार्वजनिक बिदा दिने चलनसमेत रहेको छ, जसका कारण स्थानीयवासीको जनसहभागिता उल्लेख्य रूपमा बढेको छ।

पर्वका क्रममा परम्परागत भेषभूषा धारण गरी मुढासहित राँका बालेर भोस्सो खेल्ने, ढाल–तरबारसहित चाली नाच प्रदर्शन गर्ने, हरिनु हाल्ने तथा त्यससँग सम्बन्धित गाथा गाउने चलन मुख्य आकर्षणका रूपमा रहेका छन्।

बुढीगंगा नगरपालिका–ताप्राका स्थानीय प्रेम नेपालीका अनुसार भुवा पर्वले नयाँ पुस्तामा मौलिक संस्कृति संरक्षण गर्नुका साथै समुदायबीच आपसी एकता र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

भुवा पर्वको अवसरमा जिल्लाभर लाग्ने मेलालाई व्यवस्थित तथा सुरक्षित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button