सीमा सुरक्षामा कडाइ : सशस्त्र प्रहरी बल बाँकेद्वारा ११ करोडभन्दा बढीको अवैध सामान बरामद
बाँके। सीमा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै तस्करी नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण, बागेश्वरी बाँकेले उल्लेखनीय सफलता हासिल गरेको छ। अहोरात्र खटिने एसपी शोभाकान्त खनालको कमाण्डमा गणले सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रणदेखि नागरिक सुरक्षासम्म प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।
सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेका अनुसार गत फाल्गुनदेखि मंसिर मसान्तसम्मको अवधिमा विभिन्न कारबाहीमार्फत ११ करोड ३५ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधिविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिएकाले यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको सशस्त्र प्रहरीले जनाएको छ।
लागुऔषधविरुद्धको अभियानमा समेत गण सक्रिय देखिएको छ। यस अवधिमा गरिएका १५ वटा कारबाहीमा ठूलो परिमाणको लागुऔषधसहित ४३ जना पक्राउ परेका छन्। यस्ता कारबाहीले सीमालाई लागुऔषध ओसारपसारको सुरक्षित मार्ग बन्न नदिने सन्देश दिएको स्थानीयको भनाइ छ।
सीमा सुरक्षालाई अझ मजबुत बनाउन १७३ पटक एकल गस्ती तथा २७४ पटक भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले जानकारी दिएको छ। सीमा स्तम्भको सुरक्षा सुनिश्चित गर्न समय–समयमा एकल तथा संयुक्त गस्ती निरन्तर सञ्चालन हुँदै आएका छन्।
मानव बेचबिखनविरुद्धको अभियानमा पनि गणले सक्रियता देखाएको छ। ३३ वटा कारबाहीमार्फत २७ जनाको उद्धार तथा नियन्त्रण गरिएको सशस्त्र प्रहरीले जनाएको छ, जसले जोखिममा परेका नागरिकको जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
त्यसैगरी विपद् व्यवस्थापनतर्फ २७ पटक उद्धार तथा राहतसम्बन्धी कार्य गरिएको छ भने सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै ४५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ‘सशस्त्र प्रहरीसँग सीमावासी’ कार्यक्रमलगायत सीमा अपराध नियन्त्रणसम्बन्धी विशेष पहलमार्फत नागरिकसँगको सम्बन्ध अझ सुदृढ बनाइएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।
एसपी शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले सीमा सुरक्षालाई बलियो बनाउँदै तस्करी नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढाउँदै गएको स्थानीय सरोकारवालाहरू बताउँछन्। सीमामा कडाइ र नागरिकसँगको सहकार्यले बाँकेमा सुरक्षाको अनुभूति थप बलियो बन्दै गएको उनीहरूको धारणा छ।








प्रतिक्रिया राख्नुहोस्