नेपाल प्रवेश गर्न लागेका बङ्गलादेशी रोहिंग्या समुदायका शरणार्थीलाई पुनः भारत फिर्ता पठाइयो

वीरगंज । सीमावर्ती भारतीय सहर रक्सौलबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्न लागेका बङ्गलादेशी रोहिंग्या समुदायका शरणार्थीहरूको ठुलो समूहलाई पुनः भारत फिर्ता पठाइएको छ ।
बुधवार एक दर्जन बढी टाँगा मार्फत ८० जना भन्दाबढी रोहिंग्या शरणार्थीहरू वीरगञ्ज–रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि वीरगंजका स्थानीयहरूले उनीहरूलाई बाइपास रोडको नगवामा रोकेर सोधपुछ गरेका थिए ।
सोधपुछका क्रममा रोहिंग्या शरणार्थीहरूले आफूहरू भारतको उत्तर प्रदेश (युपी) घर भई नेपाल काम गर्नका निमित्त प्रवेश गर्न लागेको बताए पनि शङ्का लागेपछि प्रहरीको जिम्मा लगाएर उनीहरूलाई भारत तर्फ फिर्ता पठाइएको हो ।
शरणार्थीहरूलाई युवाहरूले वीरगञ्ज भन्सारसम्म पुर्याएर प्रहरीको जिम्मा लगाएका थिए । “युपी घर बताउने तर राम्रो हिन्दी बोल्न नसक्ने, स्पष्ट कागजात नभएका उनीहरूले नेपाल प्रवेश गर्ने उद्देश्य पनि खुलाउन नसकेपछि शङ्का लागेर प्रहरीको जिम्मा लगाएको स्थानीय युवा रञ्जित सर्राफले बताउनुभयो ।
खुला सीमाको प्रयोग गर्दै ठूलो समूहमा रहेको बङ्गलादेशी रोहिंग्या समुदायका शरणार्थीहरू नेपाल प्रवेश गरेका थिए ।
प्रारम्भिक जाँचका क्रममा उनीहरूले भारतको उत्तर प्रदेशमा बसोबास रहेको दाबी गरे पनि उनीहरूको गतिविधि र भनाइमा तालमेल नदेखिएपछि सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै भारततर्फ फिर्ता पठाइएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले जनाएको छ ।
भारतमा अवैध रुपमा बसोबास गर्दै आएका बङ्गलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रुपमा प्रवेश गरिरहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जसहित जिल्लाका सबै सीमा नाकाहरूमा सुरक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो ।
कोही पनि शङ्कास्पद व्यक्ति जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिको सम्बन्धमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले अपिल समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्