चितुवाको आक्रमणमा ३२ वर्षीय युवकको मृत्यु

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा चितुवाको आक्रमणबाट एक युवाको ज्यान गएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–१० सेम्रवा निवासी ३२ वर्षीय दिनेश चौधरी रहेका छन्।
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीका अनुसार बारबर्दिया नगरपालिका–१० स्थित पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न गएका बेला चितुवाले आक्रमण गर्दा चौधरीको मृत्यु भएको हो। घटना दिउँसो करिब १ बजेतिर भएको जनाइएको छ।
स्थानीयस्तरमा श्रमदानको काम भइरहेका बेला शौच लागेपछि चौधरी सामुदायिक वनतर्फ गएका थिए। लामो समयसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा चितुवाको आक्रमण भएको आशङ्कामा स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले सामुदायिक वन क्षेत्रमा खोजविन तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर मल्लका अनुसार खोजविनकै क्रममा सामुदायिक वनभित्र चौधरीको शव फेला परेको हो। उनले शव क्षतविक्षत अवस्थामा भेटिएको जानकारी दिँदै हाल शव घटनास्थलमै रहेको बताउनुभयो।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। वन क्षेत्र आसपास मानव–वन्यजन्तु द्वन्द्वका घटनाहरू बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग सुरक्षा व्यवस्थापन र सचेतना कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन्। वन कार्यालय र प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्