तपाईँ सुन्दै हुनुहुन्छः

इलामका स्थानीय आन्दोलित

इलाम । इलाम जिल्लालाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरिए पनि अपेक्षित रूपमा पुनर्निर्माण, मर्मत तथा पुन स्थापनाको काम नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । इलामेली नागरिकहरूले इलाम जिरोकिलो मिटरमा यातायात अवरुद्ध गरि बुधबार मेची राजमार्ग १ घन्टा बन्द गरेका छन् ।

साङ्केतिक विरोध गर्दै विरोध सभा गरी बिहान ११ बजेदेखि १२ बजेसम्म राजमार्ग बन्द गरिएको सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुले बताउनुभयो  । सरकारको गम्भीर ध्यानाकर्षण गराउन चरणबद्ध आन्दोलन थालिएको चिपालुको  भनाइ छ ।

गत असोज १८ र १९ को वर्षा पछि आएको बाढी पहिरोको कारण जिल्लाको अधिकांश सडक सञ्जालमा क्षति पुगेको तर सङ्कटग्रस्त जिल्ला घोषणा  औपचारिकतामै सीमित भएको स्थानीयको गुनासो छ । 

सङ्कटग्रस्त घोषणा पश्चात् आवश्यक नीति, बजेट र कार्यक्रममार्फत पुनर्निर्माणका अधिकांश काम सम्पन्न हुने अपेक्षा भए पनि कुनै काम नभएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ (कृष्ण) पौडेलले गुनासो गर्नुभयो ।

मेची राजमार्ग तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माण आवश्यक रहेको विरोधमा सहभागी स्थानीय राजीव न्यौपाने बताउनुभयो । इलाममा विपद्पछि आर्थिक गतिविधि घट्दो क्रममा रहेकोले पर्यटन, कृषि, उद्योग जस्ता क्षेत्रमा असर परेको होटल व्यवसायी प्रकाश चापागाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button