जोखिम बुझेर संयमित लगानी गर्न बोर्डको आग्रह
बाँके। शेयर बजारका लगानीकर्तालाई सचेत र सशक्त बनाउने उद्देश्यसहित नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम सुरु गरिएको छ।
नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरेको ‘पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि’ कार्यक्रममा बोर्डका निर्देशक विनोद पौडेलले नेपालगन्जका लगानीकर्ताका लागि औपचारिक रूपमा शेयर साक्षरता अभियान सुरु गरिएको जानकारी दिनुभयो।
पुँजीबजार प्राथमिक र दोस्रो बजार दुवै पक्षसँग जोडिएको उल्लेख गर्दै निर्देशक पौडेलले लगानीकर्ताको हित संरक्षणका लागि बोर्ड निरन्तर सक्रिय रहेको बताउनुभयो। “लगानीकर्ताको लक्ष्य दोस्रो बजारबाट मुनाफा आर्जन गर्नु हो, तर त्यसका लागि धैर्यता र संयमता आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “बोर्ड आवश्यक सहजीकरण गर्न सदैव तयार छ।”
पुँजीबजार ऐन तथा नियमअनुसार बजारको नियमन भइरहेको उल्लेख गर्दै उहाँले शेयर लगानीसँग जोखिम अनिवार्य रूपमा जोडिने भएकाले सचेत भएर लगानी गर्न आग्रह गर्नुभयो। लगानीपछि प्राप्त हुने प्रतिफलको ग्यारेन्टी बोर्डले गर्न नसक्ने स्पष्ट पार्दै उहाँले लगानी निर्णयको जिम्मेवारी स्वयं लगानीकर्ताकै हुने बताउनुभयो।
कार्यक्रममा लगानीकर्ता झवीन्द्रप्रसाद मरासिनीले कतिपय कम्पनीले समयमा लाभांश नदिँदा लगानीकर्ता ठगिएको महसुस गरिरहेको उल्लेख गर्दै यस विषयमा बोर्डले कडा कदम चाल्नुपर्ने माग गर्नुभयो। त्यस्तै, लगानीकर्ता विकास भट्टराईले नियामक निकायको सक्रियता अभावका कारण लगानीकर्ता जोखिममा परेको भन्दै ‘इन्साइडर ट्रेडिङ’ जस्ता गम्भीर विषयमा बोर्ड गम्भीर नदेखिएको आरोप लगाउनुभयो।
उद्योग वाणिज्य संघ, नेपालगन्जका अध्यक्ष टंक धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारी, लगानीकर्ता जीवनारायण बेल्वासे, संघका महासचिव अर्जुन रानाभाटलगायतले पुँजीबजारलाई व्यवस्थित र विश्वसनीय बनाउन सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमअन्तर्गत नेपाल धितोपत्र बोर्डले बाँके र बर्दियामा शेयर साक्षरता कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ। साथै, आज बुधबार महेन्द्र बहुमुखी क्याम्पसमा थप कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ। नेपालगन्जमा तीन वटा ब्रोकर कार्यालयमार्फत करिब २० हजार लगानीकर्ताले शेयर कारोबार गरिरहेको इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्