उखुको मूल्य निर्धारणले किसान खुशी, चिनी उद्योगहरू सञ्चालनमा नआउँदा निराश

वीरगंज । सरकारले उखुको मूल्य र अनुदान रकम निर्धारण गरेसँगै खुशी भएका मध्य तराईका पर्सा,बारा,रौतहट,सर्लाहीका उखु किसानहरू यता चिनी उद्योगहरूले अझै उखु क्रसिङ्ग सुरु नगर्दा भने निराश भएका छन् ।
सरकारले मूल्य र अनुदान गरी प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ निर्धारण गरेसँगै किसानलाई राहत भएको भन्दै मङ्सिरको अन्तिम सातादेखि चिनी मिलहरू सञ्चालनमा आउने र उखु बिक्री गर्न पाउने आसमा रहेका किसानहरू पुस लाग्दा समेत चिनी मिलहरू सञ्चालनमा नआउँदा निराश भएको पर्साका उखु कृषक राम विनय यादवले बताउनुभयो ।
मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल ७० ले बढेको उखुको मूल्य समयमै क्रसिङ्ग हुन नसके उखुको रस सुकेर किसानले घाटा व्यहोर्नु पर्ने अवस्था आउन सक्ने तर्फ आफूहरू चिन्तित भएको किसान यादवले बताउनुभयो ।
यता मध्यतराईका जिल्लाहरूमा रहेका अधिकांश चिनी मिल पुसको पहिलो सातादेखि सञ्चालनमा आउने तयारीमा जुटेका छन् ।
बारा,रौतहट, सर्लाहीका चिनी उद्योगहरूमा अहिले मिलका उपकरण मर्मत, परीक्षण र कामदार जुटाउने सहितको तयारी भइरहेको उद्योगका सञ्चालकहरूले बताएका छन् । सरकारले उखुको मूल्य तोकिसकेकाले चिनी उद्योगले पनि अब धमाधम मिल सञ्चालन गरेर उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी सुरु गरेको ईन्दु शंकर चिनिमिल सर्लाहीका सञ्चालक राजेश केडियाले बताउनुभयो ।
बाराको रिलायन्स सुगरमिल्स, सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग लगायतका उद्योगहरूले मिल सञ्चालनको लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरेका छन् ।
इन्दुशङ्कर चिनी उद्योगले यसबर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यसहित मिल सञ्चालनको अन्तिम तयारी भइरहेको केडियाले जानकारी दिनुभयो ।
इन्दुशङ्करले गत वर्ष ३० लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्