तपाईँ सुन्दै हुनुहुन्छः

१० हजार क्विन्टल धान खरिदका लागि टोकन वितरण शुरु

वीरगञ्ज । पर्साका किसानहरूसँग १० हजार क्विन्टल धान खरिदका लागि आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले टोकन वितरण शुरु गरेको छ । 

किसानले धान बिक्री गर्न पालो कुर्न नपरोस् तथा किसानले व्यवस्थित रूपमा धान बिक्री गर्न पाउन् भनेर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला प्राथमिक खरिद समितिको निर्णय अनुसार आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन वितरण शुरु गरेको कम्पनीका वीरगन्ज शाखा प्रमुख पङ्कज कुमार झाले जानकारी दिनुभयो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रक्रिया पुर्‍याएर आउने प्रत्येक किसानलाई ४० क्विन्टल सम्म धान खरिदको टोकन वितरण गरिएको झाले बताउनुभयो । 

इच्छुक किसानले कम्पनीलाई धान बिक्री गर्न पाउन् भनेर किसानबाट धान खरिदको पनि सीमा निर्धारण गरिएको बताउँदै झाले टोकन पाउन किसानले आफ्नो नागरिकताको प्रतिलिपिको साथमा सम्बन्धित पालिकाको कृषि शाखाबाट अनिवार्य रूपमा सिफारिस लिएर आउनु पर्ने प्रावधान राखिएको बताउनुभयो ।

केन्द्रले यस वर्ष वीरगन्ज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा दिएको झाले जानकारी दिनुभयो । 

पर्सा बाराका किसानले बल्ल धान बाली भित्र्याएकाले यस वर्ष खरिद केही ढिलो गरी सुरु भएको छ । 

यस वर्ष वीरगन्ज शाखाले सोना मन्सुली धान मात्र खरिद गर्ने योजना बनाएको बताउँदै कार्यालय प्रमुख झाले सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको हुँदा वीरगन्ज शाखाले पनि सोही मूल्यमा खरिद गर्न लागेको जानकारी दिनुभयो । 

बजार मूल्यभन्दा यस वर्ष सरकारले घोषणा गरेको समर्थन मूल्य बढी भएपछि किसानहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न आकर्षित भएका छन् । किसानका अनुसार बजारमा २ हजार ९ सय देखि ३ हजार सम्ममा बिक्री भइरहेको धान शाखाले ३ हजार ६ सय २८ रुपैयाँ दिने भएपछि प्रति क्विन्टलमै ६ सय रुपैयाँ फाइदा हुँदा धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गर्ने भएका छन् ।      .

गत वर्ष वीरगन्ज शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न नआएका किसान यसबर्ष धान बिक्रीका लागि टोकन लिन आइपुगेका छन् । 

गत वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको लक्ष्य शाखाको थियो । तर बर्सेनि जिरा मसिनो धान खरिदको कोटा छुट्टाइने गरे पनि किसानले यो धान नल्याउने भएकाले यस वर्ष सोना मन्सुली धान मात्रै खरिद गर्न सङ्घीय सरकारले निर्देशन दिएको कार्यालय प्रमुख झाले बताउनुभयो । 

पुष १ गते मङ्गलवार र २ गते बुधबार टोकन वितरण गरेर पुष ६ गतेबाट धान खरिद गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको कार्यालय प्रमुख झाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button