चितवनमा तीन दिन ल्होसार मनाइँदै
चितवन । चितवनमा तमू ल्होसार पर्व खुला चौरमा हुने भएको छ । भरतपुर–१०, विशाल चोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पस (डिग्री भवन)को चौरमा ल्होसार मनाउने तयारी गरिएको हो ।

तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनद्वारा संयुक्तरुपमा ल्होसार पर्व मनाउने तयारी गरिएको ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरुङले जानकारी दिनुभयो ।
दुवै संस्थाको संयोजनमा ५० सदस्यीय मूल आयोजक समिति समेत गठन गरिसकेको उहाँले बताउनुभयो । १६ वटा उपसमिति गठन गरिएको छ । अध्यक्ष गुरुङका अनुसार आवश्यकताअनुसार सदस्य सङ्ख्या थप गर्न सकिने छ । यस वर्षको ल्होसार पर्वलाई खुला चौरमा व्यवस्थित तरिकाले मनाउने र चितवन जिल्लामा गुरुङ जातिको बाक्लो उपस्थिति देखाउने योजनासहित तीनखोले गुम्बाभन्दा बाहिर निस्कने तयारी गरिएको उहाँले बताउनुभयो ।
यसअघिका वर्षहरुमा ह्युल छोँज धीँ र प्ये ल्हु सङ्घले छुट्टाछुट्टै ठाउँमा अघिपछि गरेर ल्होसार मनाउँदै आएको थियो । तर, यस वर्ष संयुक्त रुपमा एकै ठाउँमा एकै समयमा मनाउने योजनाले थप हौसला प्राप्त भएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिनुभयो । पुस १३ देखि १५ गतेसम्म तीन दिन कार्यक्रम गरेर विशेष उत्सवकै रुपमा ल्होसार मनाउने तयारी थालिएको उहाँले बताउनुभयो ।
तमू जातिको धर्म, संस्कृति र पहिचानसहित आयोजना गरिने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूमार्फत मनोरञ्जनलाई विशेष बनाउने योजना रहेको उहाँको भनाइ छ ।
तीन दिने विशेष उत्सवमा करिब ५० वटा प्रदर्शनी कक्ष राखिने छ । खाना तथा खाजासँगै गुरुङ जाति र संस्कृतिसँग सम्बन्धित विषयलाई प्रदर्शनको प्राथमिकतामा राखेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्