तपाईँ सुन्दै हुनुहुन्छः

देशको राष्ट्रियता र स्वाधीनता जोगाउन नेकपाको निर्माण : नेता रावल

बाजुरा । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकता जोगाउने मूल उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टीको निर्माण गरिएको बताउनुभएको छ । उहाँले कम्युनिस्ट आन्दोलनलाई विचार, सिद्धान्त र राष्ट्रिय हितको आधारमा पुनः सङ्गठित गर्नुपर्ने आवश्यकता महसुस भएकाले पार्टी निर्माणको बाटो रोजिएको स्पष्ट पार्नुभयो।

बाजुरा सदरमुकाम मार्तडीमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका रावलले नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । 

रावलले राष्ट्रियता कमजोर बनाउने कुनै पनि सम्झौता, हस्तक्षेप वा दबाब स्वीकार्य नहुने बताउनुहुँदै देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र आर्थिक स्वाधीनताको रक्षा पहिलो प्राथमिकता हुने स्पष्ट गर्नुभयो। 

उहाँले नेपाली कम्युनिस्ट पार्टी जनताको पक्षमा उभिने पार्टी भएको दाबी गर्दै श्रमिक, किसान, मजदुर, महिला, युवा तथा सीमान्तकृत समुदायका हक–अधिकार सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। साथै भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध सशक्त आन्दोलन अघि बढाइने उहाँको भनाइ थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button