तोकिएकै मितिमा भयमुक्त र निष्पक्ष निर्वाचन गराउन सरकार दृढ: गृहमन्त्री अर्याल
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तोकिएकै मिति (फागुन २१ ) मा भयमुक्त, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन दृढ सङ्कल्पका साथ काम अघि बढाएको बताउनुभएको छ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज (सोमबार) सम्बोधन गर्नुहुँदै गृहमन्त्री अर्यालले शान्ति–सुरक्षा सुदृढ गर्दै निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र उद्देश्य सहित युवा पुस्ता जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा सहादत प्राप्त ४२ जना ‘जेन–जी सुशासन योद्धा’ तथा तीन अमर प्रहरीसहित दिवङ्गत सबैप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो । सरकार गठन हुँदाका बेला देश अन्योल, पीडा र शोकमा रहे पनि नागरिकमा सुशासन र भ्रष्टाचारमुक्त समाजको आशा पलाएको भन्दै त्यसप्रति सरकार संवेदनशील र उत्तरदायी रहेको उहाँको भनाइ थियो।
ध्वस्त भएका सार्वजनिक संरचना, सेवा केन्द्रहरू—प्रहरी बिटलगायत—पुनःस्थापना गरी सेवा सुरु गर्न सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै गृहमन्त्री अर्यालले सरकार गठनपछिका तीन महिनामा गृह मन्त्रालयको पहिलो काम शान्ति–सुरक्षाको प्रत्याभूति गर्दै स्थितिलाई सामान्यीकरण गर्नु र क्षतिग्रस्त कार्यालय तथा संरचनाको पुनर्स्थापना गरी सेवा सुचारु गर्नु रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत भई सोहीबमोजिम कार्यान्वयन भइरहेको जनाउँदै गृहमन्त्री अर्यालले निर्वाचनका क्रममा व्यवस्थापकीय तथा सुरक्षा चुनौती आउन सक्ने भए पनि राजनीतिक दलहरूले औँल्याएका लुटिएका हतियार र फरार कैदी–बन्दीको विषयमा गृह प्रशासनले सक्रियतापूर्वक काम गरिरहेको जनाउनु भयो । कुल फरार कैदीमध्ये करिब ७० प्रतिशत फिर्ता भइसकेको र बाँकी पनि आउने क्रममा रहेको उहाँको भनाई थियो ।
“संवाद र सहमतिबाटै समस्याको समाधान खोज्ने सरकारको नीति हो,” उहाँले भन्नुभयो “दलहरूसँग वार्ता, संवाद र छलफलका लागि सरकार सधैँ खुला छ।” सुरक्षा निकायलाई व्यावसायिक स्वतन्त्रता र स्वायत्तता दिइएको उल्लेख गर्दै उहाँले त्यसको प्रभावकारिता सुनिश्चित गर्न निगरानी अझै बढाइने बताउनुभयो ।
लोकतन्त्रको आधार विधिको शासन र स्वतन्त्र निर्वाचन भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले निर्वाचनबाट भाग्ने वा भ्रम फैलाउने काम स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुरूप गठन भएको उल्लेख गर्नुभयो ।
सरकारले ‘जेन–जी’ जनआन्दोलनलाई अपनत्व दिँदै माग र सहिदका सपनालाई टुङ्गोमा पुर्याउने गरी प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भई कार्यान्वयनको चरणमा रहेको उहाँको भनाई थियो । भयमुक्त, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि आयोजित सुरक्षा गोष्ठीले गण्डकी प्रदेशका सुरक्षा चुनौतीको विश्लेषण, आवश्यक रणनीति र तयारीबारे निष्कर्ष निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भई तयारी तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रदेश र जिल्लाहरूले सक्षम सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने बताउनु भयो ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि सुरक्षा निकायको मनोबल अपेक्षित रूपमा उकास्न नसकिएको अवस्था रहेको बताउँदै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । दलविहीन सरकार भएकाले समयमै निर्वाचन गराउनु सरकारको पहिलो कार्यभार भएको उहाँको भनाइ थियो। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रदेशका तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्