जुम्लाबाट ४१ करोड बढीको स्याउ निर्यात
जुम्ला।जुम्लाबाट यस वर्ष ४१ करोडको स्याउ निर्यात भएको छ ।
आ.व२०८२/०८३ मा जुम्लाबाट ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ बराबरको स्याउ जुम्लाबाट निर्यात भएको हो ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार कुल चार हजार चार सय ९७ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भएकोमा कुल उत्पादन १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जसमा १० हजार मेट्रिक टन जति स्याउ निर्यात हुने र ४० देखी ४५ करोड सम्म आर्थिक रकम जुम्लामा भित्रिने अनुमान गरिएको थियो ।
तर स्याउ न्युन मात्र निर्यात भएपनि मूल्य वृद्धि भएकाले ४१ करोड बढीको स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। गत वर्षको तुलनामा स्याउको क्षेत्र विस्तार भएपनि असिना पानीले क्षति गरेपछि स्याउ उत्पादनमा गिरावट आएको थियो ्र
उहाँले भन्नुभयो,”असिनाले क्षति गरेपछि झण्डै १६ करोड बजारको क्षति भयो। हजार बढी स्याउका बिरुवा नष्ट भए । जसका कारण उत्पादन ह्वात्तै घट्यो । तर सुखद कुरा उत्पादन घटे पनि मूल्य राम्रो पाएपछि स्याउबाट आम्दानी अनुमान गरिएअनुसार नै भएको छ ।”
कुल उत्पादन १८ हजार २४५ मेट्रिकटन भएकोमा निर्यात पाँच हजार ५९१ मेट्रिकटन मात्रै निर्यात भएको छ । न्युन मात्रामा स्याउ निर्यात हुँदा जुम्लाका किसानले आर्थिक लाभ राम्रै पाएको प्रमुख अधिकारीको भनाई छ । कुल उत्पादन मध्य ५ हजार बढी मेट्रिक टन निर्यात हुँदा ४४ सय मेट्रिकटन जिल्लामै खपत भएको छ ।
२०२४ सालपछि स्याउको व्यवसायी उत्पादन गरिएको जुम्लामा अहिले प्रमुख आयस्रोतको माध्यम स्याउ खेती बनेको छ । उत्पादनदेखि बजारीकरणमा समस्या झेल्दै आएपनि जुम्लाको ठुलो हिस्सा नागरिक स्याउ खेतीमै निर्भर छन् । जुम्लाका २० हजार घरधुरीमध्ये १९ हजार १५० घरधुरी स्याउ खेतीमा संलग्न रहेका छन् । जसले सिजनमा न्यूनतम ५० हजारदेखि अधिकतम् १० लाख सम्म प्रति किसानले कमाउने गरेका छन् ।
गत वर्षको तुलनामा स्याउ उत्पादन कम भएपनि मूल्य पाउँदा किसान उत्साहित छन् । गत आ.व. २०८१/०८२ मा २० हजार ५१२ मेट्रिकटन स्याउ उत्पादन हुँदा निर्यात १८ हजार २४५ मेट्रिकटन भएको थियो । गत आवमा हालसम्मकै सबैभन्दा धेरै ६१ करोड बढीको स्याउ निर्यात भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्षको तुलनामा १२० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती विस्तार भएको छ । गत वर्षसम्म ४३ सय ७७ हेक्टरमा स्याउ खेती भइरहेकोमा आव २०८२/०८३ मा ४४ सय ९७ हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ ।
क्षेत्र विस्तार भएपनि प्राकृतिक प्रकोपका कारण पछिल्लो वर्षमा उत्पादन घट्दै गएको छ । भने जुम्लाका ७ हजार ३५० किसान उत्पादनको बिक्री वितरणमा प्रत्यक्ष संलग्न छन् ।
जुम्लाको आर्थिक समृद्धि तथा किसानको आयस्तर वृद्धिको मुख्य स्रोत नै स्याउ भएपनि मल बिउ, सिँचाई तथा ढुवानी र उचित मूल्य निर्धारणमा राज्य अनुदार भएका कारण जुम्लाले अझै अपेक्षाकृत लाभ लिन सकेको छैन । किसानले आफ्नो उत्पादनको आफै मूल्य तोक्न पाउनु पर्ने माग वर्षौँदेखि उठे पनि आफूखुसी मूल्य निर्धारणले पनि किसान मारमा छन् ।
सरकारी अनुदानमा पहुँचवालाकै हालीमुहाली हुने, वास्तविक किसान उपेक्षामा हुने र स्याउ ढुवानीका बेला सधैँ कर्णाली राजमार्ग अवरुद्ध हुने जस्ता समस्याले किसान मर्कामा छन् । स्याउलाई सहज रुपमा बजारमा पुराउन कर्णाली राजमार्गको सुधारमा समेत ध्यान दिन किसानको माग छ ।








प्रतिक्रिया राख्नुहोस्