तीन सन्तानसहित बेसाहारा जानकी, उद्धारका लागि प्रजिअ गाउँमा
बैतडी। बैतडीको सुर्नया गाउँपालिका वडा न-४ कौलाडीकी जानकी महराको उद्धारका लागि सरोकारवाला निकायले चासो राख्नुभएकाे छ।

शुक्रबार “घरबार विहीन जानकी छिमेकीको घरमा श्रीमानको किरिया बस्दै” शीर्षकको समाचार रेडियो नेपाल अनलाइनबाट प्रकाशन भएको थियो ।
आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अगुवा र विभिन्न कार्यालयका प्रमुखहरू जानकीको गाउँ पुगेकाे हाे।

प्रमुख जिल्ला अधिकारी पौडेले विभिन्न दातृ निकायले सहयोग तथा उद्धार गर्ने विषयमा चासो राखेकाले जानकीको इच्छा अनुसार आवश्यक पहल गर्ने जानकारी गराउनुभयो । ‘जानकीलाई बस्नको लागि पालिका स्तरबाट सहयोग हुनुपर्छ, त्यसका लागि पालिका अध्यक्ष ज्यूसँग पनि मेरो कुराकानी भएको छ, केही गैरसरकारी संस्थाहरूले पनि आमा र बच्चालाई बस्ने व्यवस्था मिलाइदिने र पढाइको समेत व्यवस्था गरिदिने विषयमा कुराकानी आएको छ, आवश्यक समन्वय गरेर जानकीको इच्छा अनुसार सहयोग गर्न पहल गर्छाै,’ जानकीसँगको भेटका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेल समक्ष जानकीले उद्धारको लागि सहयोग गर्न आग्रह गर्नुभएकाे थियाे ।
‘साना तीन छोराछोरी छन्, किरिया गर्न छिमेकीको बाँझो घरमा बसे, अब कहाँ जाँउ ?’ जानकीले प्रमुख जिल्ला अधिकारी समक्ष रुँदै भन्नुभयो ।

श्रीमानले रातदिन कुटपिट गर्ने गरेको र उनको कुटाइबाट बच्न सहयोगको माग गर्दै सेफ हाउस पुगेको जानकीले सुनाउनुभयाे । ‘रातदिन कुटाइ सहन सकिन, छोराछोरीहरू तर्सिन्थे, उद्धारको माग गर्दै सेफ हाउस पुगेकी हुँ, त्यही समयमा यहाँको करिब २० रोपनी जमिन र घर बेचेछन्,’ जानकीले भन्नुभयो ।
एक महिलाको आँसु, समाजको जिम्मेवारी
गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले पनि पालिका स्तरबाट बस्ने व्यवस्था मिलाउन र सरोकारवाला निकायसँग नियमित पहल गरेर उद्धारमा सहयोग गर्ने बताउनुभयो । ‘साँच्चिकै जानकीको परिवार शोकमा मात्रै नभई, भविश्यनै अन्धकारको अवस्थामा छ, हामी पालिका स्तरबाट सहयोग गर्छौँ,’ अध्यक्ष कुँवरले बताउनुभयाे ।
जानकीको परिवारको उद्धारको लागि वडा कार्यालयबाट पनि सहयोगको लागि पहल भइरहेको वडा अध्यक्ष प्रताप महराले बताउनुभयो ।
आइतबार प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारीकृष्ण थापा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार राय, सशस्त्र प्रहरी बल नेपाल न-५१ गुल्म हेट क्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंग बहादुर कुँवर, सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशी, शिक्षा विकास समन्वय इकाई बैतडीका प्रमुख एवं कर्मचारी मिलन केन्द्रका अध्यक्ष नरेन्द्र प्रसाद अवस्थी, समाजसेवी एवं कपडा बैङ्कका संयोजक महेश दत्त भट्टको टोलीले आवश्यक लत्ता कपडा, खाद्यान्न र नगद सहयोग प्रदान गर्नुभएकाे थियाे ।
जानकीसँग बस्ने व्यवस्था समेत नहुनु निकै पिडादायक अवस्था रहेको बताउँदै कपडा बैङ्कका संयोजक महेश भट्टले अवोध बालबालिकाहरूमाथिको चोटलाई मनन गरेर आधारभूत आवश्यकता परिपूर्तिका लागि सरोकारवाला निकायले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
दृष्टि फाउन्डेसनकी संयोजक कल्पना भट्टले उहाँको आवश्यक सहयोगको लागि दृष्टि फाउन्डेसन तयार रहेको जानकारी गराउनुभयो । ‘ती महिला र बालबच्चाको लागि दीर्घकालीन सहयोग गर्न तयार छौँ, आमालाई बस्न र बालबालिकालाई पढाइको पूर्ण व्यवस्था हुन्छ, हामीसँग डेढ दर्जन परिवार छन्,’ भट्टले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्