तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु, आगलागीबाट पाँच लाखको क्षति

मकवानपुर | मकवानपुरमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक जनाको ज्यान गएको छ भने अर्को घटनामा आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा सिकार गर्न गएका बेला भरुवा बन्दुक पड्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका–८ राजराङका करिब ४५ वर्षीय गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङका करिब ५० वर्षीय सेते थिङ सिकारका लागि जंगल जानुभएकाे थियाे।

सिकारका क्रममा अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लडेपछि उहाँले बोकेको भरुवा बन्दुक अचानक पड्किन गई पछाडि हिँडिरहेका सेते थिङलाई गोली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि ब्लोनले दिउँसो करिब ४ः४० बजे इलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराउनुभएकाे थियाे। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का कार्य सम्पन्न गरेको छ। प्रहरीले दुवै भरुवा बन्दुकसहित गोपाल ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक थिङको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको छ।

उक्त घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तरतर्फ तथा इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ३५ किलोमिटर पश्चिम–उत्तरमा पर्दछ।

यस्तै, बकैया गाउँपालिका–९ कुडुलेमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। आइतबार अपराह्न करिब ४ः३० बजे स्थानीय प्रकाश थिङको माटो, ढुंगा, काठ र जस्ताले बनेको भुईँतले घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो।

आगलागीबाट घरभित्र रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा तथा फर्निचर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। घटनाबारे साँझ ६ः३० बजे प्रहरी चौकी हात्तिसुडेमा सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक कृष्णकुमार लामाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको र आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगलागी भएको स्थान प्रहरी चौकी हात्तिसुडेबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button