पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
कास्की । भौतिक पूर्वाधार यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ । उहाँले रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गर्नुभयो।
मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रङ्गशालमा स्वागत गर्नुभएको थियो ।
उहाँले फुटबल मैदानमा फ्लड लाइट(रात्रिकालीन बत्ती) र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिनुभयो ।
“पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ । म पहिलो पटक यहाँ आउँदा खुसी लाग्यो । फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ । साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ”, मन्त्री घिसिङले भन्नुभयो ।
पोखरा फुटबल रङ्गशालामा फ्लडलाइट नहुँदा यहाँ अन्तरराष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन् । यसैगरी रात्रिकालीन खेलकुद भएको छैन । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाबारे जानकारी गराउनुभएको थियो । मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल लगायतका खेल पूर्वाधारको अवलोकन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्