‘सडक सुरक्षा’ रेडियो कार्यक्रम प्रसारण हुने
सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट सडक सुरक्षा रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो ।

सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारणसम्बन्धी दुईपक्षिय सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार बम र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख विजय कुमार बर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रम मासिक रुपमा, महिनाको अन्तिम मङ्गलवार बेलुकी ५ः४५ बजेदेखि ६ः०० बजेसम्म रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रुपमा कर्णाली प्रदेशमा सडक पूर्वाधारको अवस्था, सडक दुर्घटनाको कारण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामाग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सचिव अर्जुन कुमार बमले सुझाव दिनुभयो । सडक सुरक्षा रेडियो कार्यक्रममा समेटिने चेतनामूलक सामाग्रीबाट सडक दुर्घटनाको जोखिम घटाउन सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्