खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो
ढोरपाटन । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूल खेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो । यसवर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो ।
बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताउनुभयो । कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उहाँको भनाइ छ । पछिल्लो समय किसान कोदोखेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीय खेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिनुभयो । अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उहाँको भनाइ छ ।
“पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न बिस्तारै छोड्दै छन् । खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ”, पुनमगरले भन्नुभयो, “अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन् ।”
ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन् । कुनै बेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहर बजारका ठूलाठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ । ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन् । मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताउनुभयो । जाडोका बेला ढिँडोका र अन्य बेला कोदोकै सेल रोटीको माग बढी आउने गरेको उहाँको भनाइ छ ।
थापाले भन्नुभयो, “सहर बजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो, पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे । अहिले त्यही ढिँडो महत्वपूर्ण बनेको छ । गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, सहर बजारमा बस्नेले ढिँडो खोज्छन् ।”
गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ श्यामबहादुर थापाले बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उहाँले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गर्नुभयो । उहाँका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्