एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनको बन्द सत्र सुरु गर्नुअघि भृकुटीमण्डपमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । यो बैठक १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक हो।

अध्यक्ष केपी शर्मा ओली बैठक स्थलमा भर्खरै आइपुगेको जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैठक सुरु भएको बताउनुभयो । केन्द्रीय कमिटीको अन्तिम बैठक आज बिहान ९ बजे बस्ने तय भएकाले बन्द सत्रको समय सारिएको हो।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भइसकेको छ। उद्घाटनपछि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको हो।

शनिबार भक्तपुरमा औपचारिक रूपमा उद्घाटन भएको नेकपा (एमाले) को ११औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन तथा नयाँ नेतृत्व चयनलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

यसैबीच, केन्द्रीय कमिटी बैठकमार्फत भदौमा सम्पन्न विधान महाधिवेशनबाट तोकिएको केन्द्रीय कमिटी र पदाधिकारीको सङ्ख्या बढाउने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गराउने तयारी संस्थापन पक्षले गरेको छ। तर अध्यक्ष पदका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको विरोधका कारण महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको सङ्ख्या बढाउने प्रस्ताव अनुमोदन गर्न सकेको थिएन।

विधान महाधिवेशनले केन्द्रीय कमिटीको सङ्ख्या २५१ र पदाधिकारीको सङ्ख्या १५ रहने व्यवस्था गरेको छ।








प्रतिक्रिया राख्नुहोस्