विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठुलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ ।
विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईँले जानकारी दिनुभयो । प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
वर्षभरि क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने तयारीसहित एकेडेमी सञ्चालनको तयारी गरिएको अध्यक्ष बजगाईँले बताउनुभयो । विराटनगर–३ दुधफारम पूर्व ३० कठ्ठा क्षेत्रफलमा तयार गरिएको स्पोर्टस् जोनमा सात किसिमका खेलकुदका गतिविधि सञ्चालन हुने जनाइएको छ । जसमा फुटसल, क्रिकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस हुने स्पोर्टस् जोनका सचिव नवराज काफ्लेले जानकारी दिनुभयो ।
स्पोट्र्स जोनमा क्रिकेट एकाडेमीसँगै गो–कार्ट आकर्षकको केन्द्र रहेको छ । यसअघि गो–कार्ट काठमाडौँ र पोखरामा मात्र सञ्चालनमा रहेको थियो । अध्यक्ष बजगाईँ, सचिव काफ्लेसहित सात जनाको लगानीमा स्पोर्टस् जोन तयारी गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठुलो क्रिकेट एकेडेमी स्पोर्टस् जोनको मुख्य आकर्षक भएको अध्यक्ष बजगाईँले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्