तपाईँ सुन्दै हुनुहुन्छः

जनजागृति माविले पचायो राष्ट्रपति रनिङ शिल्ड

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सम्पन्न छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय प्रथम भएको छ । यससँगै लगातार तीन पटक जित हासिल गर्दै रनिङ शिल्ड पच गरेको छ ।

प्रतियोगितामा विद्यालयले विभिन्न खेलबाट २० स्वर्ण, १४ रजत र १४ कांस्य गरी कुल ४८ पदक हासिल गर्दै पहिलो भएको सोलुदुधकुण्ड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रोजिना पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगितामा ह्वाईट हिल्स आवासीय माध्यमिक विद्यालयले १४ स्वर्ण, ११ रजत र १६ कांस्यसहित ४१ पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने सगरमाथा माध्यमिक विद्यालयले ११ स्वर्ण, ९ रजत र ७ कांस्य सहित कुल २७ पदक प्राप्त गरी तेस्रो भएको छ । 

जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्टसहित विभिन्न खेल समावेश गरिएको थियो । सामुदायिक र संस्थागत गरी १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र खेलकुदप्रतिको सम्मान अभिवृद्धि गरेको जनाइएको छ । विजेता विद्यालय र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button