तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

हनोइ (भियतनाम)। थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ । 

आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उहाँले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

“पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो, “नेपालमा निर्यातजन्य उद्योगमा लगानीका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु ।” उहाँले दुवै देशबिच पर्यटनको क्षेत्रमा सम्भावना रहेको समेत उल्लेख गर्नुभयो ।

नेपाल र भियतनाम सरकारबिचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्न सकिने पनि उहाँको भनाइ थियो । उहाँले नेपालमा उत्पादनमूलक उद्योग, आइसिटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउनुभयो । नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै उहाँले दुवै देशबिचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो । दुई देशबिच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उहाँले अब दुई देशबिचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबिच आर्थिक सहकार्यका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु, नेपालमा लगानीको ठुलो सम्भावना छ, यस अवसरलाई सदुपयोग गर्नका लागि हाम्रो प्रयास रहनेछ”, उहाँले भन्नुभयो । 

नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसतर्फ पनि लगानी बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने सम्भावना रहेको पनि बताउनुभयो । 

नेपालमा भियतनामको कृषि उत्पादन, सी फुड, इलेकट्रोनिक्सलगायतका उत्पादनको ठुलो बजार रहेको उहाँको भनाइ थियो । “नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानुन पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनलगायतका क्षेत्रमा सुधार भएको छ, सरकार पनि विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो ।

नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी केबलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरू स्वागत गर्न चाहेको बताउनुभयो । अध्यक्ष ढकालले भियतनामी टोलीलाई महासङ्घको आगामी वार्षिक साधारण सभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निम्तो दिनुभयो । 

भियतनामी चेम्बर अफ कमर्श इन्डस्ट्रीका कार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबिच लगानी र व्यापारका क्षेत्रमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबिच व्यापार र लगानीका क्षेत्रमा ठुलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठुलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button