तपाईँ सुन्दै हुनुहुन्छः

सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली काँग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम आज सिफारिस गरेको छ । 

तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा प्रतिस्पर्धाका लागि काँग्रेसको क्षेत्रीय समितिले सो नाम सिफारिस गरेको हो । बाँके क्षेत्र नम्बर १ बाट नौ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री र काँग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपाने, मीना सिग्देल, रामबहादुर मल्ल, ज्ञानु केसी, चुडामणि कँडेलको नाम सिफारिस गरिएको काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिनुभयो । 

जिल्लाको क्षेत्र नम्बर २ बाट पनि छ जनाको नाम सिफारिस गरिएको छ । पूर्वजिल्ला सभापति तथा पूर्वमन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदीप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य मो याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ता र लिलावती यादव नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधिसभा सदस्य आशा विक, महासमिति सदस्यहरू लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का र देवराज खत्री तथा महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइलीको नाम सिफारिस गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button