महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौँ । राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।
आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिनुभएको हो ।
सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा जसमा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ । सचिव कँडेलकै अनुसार हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् ।
निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरू बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ ।
गत आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी एक हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगत झैँ आगामी दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्