तपाईँ सुन्दै हुनुहुन्छः

‘मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक’

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अधिकार र दायित्वको समुचित प्रयोग र परिपालनाबाट मात्रै मानव अधिकारमैत्री समाजको निर्माण हुनसक्ने बताउनुभएको छ ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले समसामयिक मानव अधिकारका सवाल, जलवायु परिवर्तन, भ्रष्टाचार र मानव अधिकारजस्ता विषयलाई प्राथमिकतामा राखी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“नेपालको मानव अधिकारको कुरा गर्दा सङ्क्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन, १० वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितको न्यायपरिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय भएको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सुशासन, सामाजिक न्याय, जबाफदेहिता र नवपुस्ताको मागलाई सम्बोधन गर्नु अनिवार्य रहेको बताउनुभयो । 

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष एवं १७औँ मानव अधिकार महाभेला २०८२ का संयोजक शोभा बिसीले विधिको शासन र मानव अधिकारको रक्षाका लागि क्रियाशील रहेर सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जेनजी आन्दोलनले देशको अस्तित्व, संविधान र लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्नुभयो । 

समारोहमा सरोकारवालाहरूले समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी सुव्यवस्थित शासन व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button