मानव अधिकार विना सुशासनको कल्पना गर्न सकिन्न : प्रधानन्यायाधीश राउत
जनकपुरधाम । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकार र न्याय एक अर्कासँग जोडिएको विषय भएकाले न्याय विनाको मानव अधिकारको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

नेपाल वार एशोसिएशनको आयोजनामा जनकपुरधाममा शुरु भएको ५१ औँ कार्यकारिणी परिषद् बैठक तथा मानव अधिकार सम्बन्धि राष्ट्रिय गोष्ठीको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकारको रक्षा गर्नु चुनौतीपूर्ण कार्य भएको बताउँदै मानव अधिकार विना सुशासन तथा न्यायको कुरा गर्न नसकिने बताउनुभयो ।
उहाँले विधिको शासनलाई जीवन्त राख्नका लागि मानव अधिकारको रक्षा र संरक्षण जरुरी रहेको बताउँदै यसका लागि अदालत तथा न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी रहेको बताउनुभयो ।
प्रधान न्यायाधीश राउतले जेन्जी पुस्ताको आन्दोलनको क्रममा सर्वोच्च तथा अन्य अदालतका गरेर ९ लाख मिसिलहरू जलाइएकोले यसले न्याय क्षेत्रमा ठूलो आघात पुगेको बताउनुभयो ।
महान्यायधिवक्ता सविता बरालले मानव अधिकार सुनिश्चितता भएको खण्डमा मुलुकमा सुशासन स्थापित हुने र यसले न्याय निरुपणमा मद्दत पुग्ने बताउनुभयो । उहाँले मानव अधिकारका लागि सुशासन पहिलो सर्त भएको बताउँदै यसका लागि न्याय क्षेत्रमा पारदर्शीता तथा जबाफदेही बन्न जरुरी रहेको बताउनुभयो ।
नेपाल वार एशोसिएशनका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. विजय प्रसाद मिश्रले सुशासन तथा विधिको शासन विना मानव अधिकारको कल्पना गर्न नसकिने बताउँदै जेनजी पुस्ताको आन्दोलनको भावनालाई वैधानिकीकरण गर्न संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।
नेपाल वार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले परम्परागत मूल्य र मान्यताले मानव अधिकारको रक्षा गर्न कठिन हुने बताउनुभयो ।
नेपाल वार एशोसिएशन जनकपुर शाखाको आतिथ्यमा भएको कार्यकारिणी परिषद् बैठकमा निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
भोलीसम्म चल्ने परिषद् बैठकमा ७७ जिल्लाका परिषद् सदस्यहरु, जिल्ला अध्यक्ष तथा सचिवहरू गरेर करिब ५ सय कानून व्यवसायीहरूको सहभागिता रहेको छ । भोली जनकपुर घोषणापत्र जारी गरेर समापन गर्ने कार्यक्रम रहेको वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्