२ दिनदेखि ठप्प भन्सारका सम्पुर्ण सेवा सुचारु
वीरगञ्ज । भन्सार एजेन्ट महासङ्घको आन्दोलनका कारण ठप्प भएको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज सहित देशभरका भन्सार कार्यालयहरूको भन्सार जाँचपासको काम आज दिउसो २ बजेदेखि सुचारु भएको छ ।

२ दिनदेखि जाँचपास ठप्प भएसँगै भन्सारबाट हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएकोमा आज दिउँसो २ बजेपछि सबै सेवा सुचारु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीले बताउनुभयो ।
भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबिच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएर आन्दोलन रोकिएसँगै आफूहरू काममा फर्किएको वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले बताउनुभयो ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक असर पार्ने वातावरण सिर्जना भएको भन्दै भन्सार एजेन्ट महासङ्घ नेपालद्वारा मङ्सिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ लगायतका विरोध कार्यक्रम गरिएको थियो ।
भन्सार विभाग र महासङ्घबिच छलफल भई सकारात्मक रूपमा महासङ्घका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको अध्यक्ष तामाङले बताउनुभयो ।
यस्तै, वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीले भन्सार एजेन्ट र भन्सार विभागबिचको आजको वार्ता सकारात्मक रूपमा टुङ्गिएको बताउँदै भन्सार एजेन्टका विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेश गरिएकामा व्यवस्थापन सुधार गर्ने, विभाग/कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने तथा नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषय अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्