साफ यु–१९ महिला च्याम्पियनसिप आउँदो माघ १५ गतेदेखि हुने
पोखरा । पोखरामा आउँदो माघ दोस्रो साता देखि साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । पोखरामा पहिलो पटक आगामी माघ १५ (जनवरी २९) देखि उक्त प्रतियोगिता हुने तयारी गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले बताउनुभयो ।

एन्फाले पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन गर्न लागेको उहाँले बताउनुभयो । सोही प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मङ्गलवार पोखरा रंगशालाको फुटबल मैदान अवलोकन समेत गर्नुभएको छ । अवलोकनपछि महासचिव राईले लामो समय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष हेर्नबाट बञ्चित पोखरेलीहरूले अब त्यो अवसरमा पाउने बताउनुभयो ।
पोखरा रंगशालाको फुटबल स्टेडियममा १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक साफ यू१९ महिला फुटबल च्याम्पियनसिप गर्ने तयारी भएको हो । रंगशाला निर्माण सम्पन्न भए पछिको यो दोस्रो ठूलो प्रतियोगिता समेत हो । सन २०१९ मा पोखरा रंगशाला निर्माणकै क्रममा १३ औँ साग अन्तर्गतको महिला फुटबल आयोजना भएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं एन्फा गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले उक्त प्रतियोगिता पोखरामा हुनुले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँमा हुने तयारी गर्दा गर्दै एन्फाले देशकै ठूलो र दर्शक १६ हजार ५ सय सबे भन्दा बढी दर्शक सिट क्षमता रहेको पोखरा रङ्गशालामा उक्त प्रतियोगिता हुने मिति घोषणा हुनुले यस क्षेत्रको फुटबल विकासका लागि महत्वपूर्ण हुने उहाँले जनाउनुभयो । उक्त प्रतियोगितालाई पोखरेलीको साथ समर्थन हुने भएको अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्