यःमरी महोत्सव सम्पन्न
धनकुटा । धनकुटा नगरपालिका–६, स्थित सिरान बजारमा मङ्सिर १८ देखि सुरु भएको यःमरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा यः मरी र नेवारी खाजाका परिकारहरू स्टलमा राखिएका थिए ।

यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । नेवारी कला, संस्कृति जोगाउन महोत्सव आयोजना गरिएको नेवा: पूच धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यले बताउनुभयो । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने, मरी भनेको रोटी अर्थात् मन पर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलको पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ ।
यस्तै नेवारी समुदायमा बनाइने नेवारी खाजाका परिकार, भेषभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएकाले पहिचान जोगाई इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको आयोजकले जनाएको छ । यःमरी महोत्सवमा नेवारी खाजाका विभिन्न परिकारका स्टलसहित स्थानीय कला सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
नेपाल भाषा मिसाः खल, नेवा मिसा देय दवू, नेपाल खड्की समाज, जोशी समाज र शाक्य समाजको सहयोगमा सिरान बजार युवा समूहको संयोजन र नेवा: पुच धनकुटाकाको आयोजना यःमरी महोत्सवको आयोजना गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्