झन्डै १० करोड लागतमा सुस्ता अस्पताल शिलान्यास
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ धरमपुरामा १० शय्याको पालिकास्तरीय अस्पतालको आज शिलान्यास गरिएको छ । पालिका अध्यक्ष टेकनारायण उपाध्यायले एक कार्यक्रमबीच अस्पताल निर्माणको शिलान्यास गर्नुभएको हो ।
आफ्नै कार्यकालमा शिलान्यास गरिएको अस्पताल यही कार्यकालमै सम्पन्न गरी स्थानीयलाई आफ्नै पालिकाभित्र स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । “यहाँ अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि नागरिक अन्यत्र धाउनु पर्ने अवस्था थियो । हाम्रो प्रयासपछि आज शिलान्यास भएको हो । समयमै निर्माण सम्पन्न हुनेमा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।
झन्डै पौने ९ कठ्ठा जग्गामा बन्ने अस्पताल भवनको कुल लागत १३ करोड ७५ लाख रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । निर्माणका लागि सुरेन्द्र अर्बिट–शिवदेव जेभी कम्पनीसँग ९ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो ।
अस्पताल निर्माणका लागि स्थानीय चेतनारायण न्यौपानेले ४ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो भने बाँकी जग्गा खरिद गरिएको छ । बाँकी जग्गा खरिदका लागि स्थानीयवासीबाट पनि आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ ।
२०८२ मङ्सिर १५ मा सम्झौता भएको अस्पताल २०८३ मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । संघीय सरकारको अनुदान र पालिकाको लागत साझेदारीमा निर्माण हुन लागेको यस अस्पतालबाट आधारभूत उपचारदेखि आकस्मिक सेवासम्म उपलब्ध हुने विश्वास गरिएको छ ।
अस्पताल निर्माणपछि सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने आशा स्थानीयवासीले गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्