तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । 

मन्त्रालयमा आज उहाँले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गर्नुभएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छलफलमा सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित कार्यक्रमको असल अभ्यास र समस्याबारे छलफल भएको जानकारी दिनुभयो । “नेपालमा स्वास्थ्य बिमाको पहुँच र गुणस्तर बढाउन मन्त्रालय, कोष र बोर्डबीच सहकार्यका विषयमा गहन छलफल भएको छ । जसले स्वास्थ्य बिमामा थप सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो । 

छलफलमा मन्त्रालयका सचिव द्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागबाट महानिर्देशक डा केशरबहादुर ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेलगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button