तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याइने

काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । 

कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको हो ।

सबै स्थानीय तहले जग्गाको कित्तागत विवरण सहितको भू उपयोग क्षेत्र वर्गीकरण गरी मन्त्रालयमा विवरण पठाउन परिपत्र गरिएको छ । 

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति गर्न सहज हुने जानकारी दिनुभयो । 

सरकारले हालै गरेको भू उपयोग नियमावली तेस्रो संशोधनमा स्थानीय तहलाई भूमिको वर्गीकरण, भू उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार दिइएको छ । स्थानीय तहको हरेक कित्ता जग्गा कृषियोग्य भए÷नभएको छुट्याएर वर्गीकरण गरिने छ ।  

जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन तथा जङ्गल, सांस्कृतिक तथा पुरातात्त्विक लगायतको आधारमा वर्गीकरण गरिने जनाइएको छ । 

व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन तथा पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button