तपाईँ सुन्दै हुनुहुन्छः

बेलिब्रिजबाट उदयपुर र दक्षिणी खोटाङ जोडिँदै

उदयपुर । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । सुनकोशी नदीको बंशिलाघाटमा पहिलो पटक बेलिब्रिज राख्न सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङ बीच सिधा यातायात सञ्चालनमा आउने पक्का भएको हो ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका १ र खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने सुनकोशी नदीको बंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१.८१ मिटर लामो र ४.१ मिटर चौडाई भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाखमा बेलिब्रिज जडान गर्ने गरि कामको जिम्मा लिएको हो ।

नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी जडान सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख सिनियर डिभिजन इन्जिनियर बिनम दाहालले जानकारी दिनुभयो । 

अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँ सुनकोशी नदीको बंशिलाघाटमा मोटरेवल पक्की पुल निर्माणका लागि  १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा ३३ महिनामा पुल निर्माण सम्पन्न गर्ने गरि ०७९ मङ्सिर १ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो । तर पुल निर्माणको कार्यमा चरम ढिलासुस्ती भएपछि स्थानीय जनताको माग अनुसार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राख्न सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button