तपाईँ सुन्दै हुनुहुन्छः

झापामा डेढ सय बढी मतदान केन्द्र थपिँदै

झापा । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै झापाका दुईवटा मतदानस्थल असहज परिस्थितिका कारण सारिएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्रहरू नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएको बताउनुभयो । 

उहाँका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वास्थ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट मतदानस्थल सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् । धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङ्गशालामा सारिएको नेपालले बताउनुभयो । 

उहाँले जिल्लामा विगतमै रहेका २८५ मतदानस्थल नै कायम रहने जानकारी दिनुभयो । तर, मतदान केन्द्र भने मतदाताको सङ्ख्यामा थपिनेछन् । उहाँले जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने जानकारी दिनुभयो । 

उहाँका अनुसार एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । उहाँले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आठ सय बढी मतदान केन्द्र थपिने अनुमान रहेको बताउनुभयो । झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button