दुई पटकको सूचना जारी गर्दा पनि उपकुलपति पदका लागि परेन निवेदन
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दुई चरणसम्म सूचना जारी गरिँदा पनि कुनै पनि उम्मेदवारले दरखास्त नदिएको आयोगले जनाएको छ।

उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक कात्तिक १६ गतेदेखि ३० गतेसम्म आवेदन दिन समय दिएको थियो। त्यसपछि अवधि थपेर मङ्सिर ५ गतेसम्म दरखास्त आह्वान गरिएको भए पनि सो समयभित्र कुनै निवेदन परेको छैन।
यस स्थितिपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक रूपमा इच्छुक योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो “उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई मातृभूमिलाई सेवा गर्ने इच्छुक देशभक्त सन्तानहरूलाई कृपया निवेदन दिन अनुरोध गर्दछु। वा आवश्यक परे मसँगै सम्पर्क गर्नुस्।”
सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको हो।








प्रतिक्रिया राख्नुहोस्