तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल: भिम सार्कीको सानदार ब्याटिङ, पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो । बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए । पोखराका धनन्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे ।

पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button