“मष्ठाजाँतको” दिन नवदुर्गा गाउँपालिकाले दियो सार्वजनिक बिदा
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले मष्ठाजाँतको अवसरमा सार्वजनिक बिदा दिएको छ । पालिकाको वडा नं १ मा रहेको प्रसिद्ध ऐतिहासिक ,धार्मिक स्थल मष्ठाभगवती देवीको मन्दिरमा यही मङ्सिर १९ गते दिउँसेडी मेला लाग्ने भएकाले उक्त दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

उक्त दिन गाउँपालिकाको कार्यालय मातहतमा रहेका सरकारी तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्पराज जोशीद्वारा बुधबार जारी सूचनामा उल्लेख छ ।
बिहीबार रतेडी र शुक्रबार सम्पन्न हुने जिल्लाकै अन्तिम जाँतका रुपमा रहेको मष्ठाजाँतको तयारी अन्तिम चरणमा रहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताउनुभयो ।
धार्मिक क्षेत्रका जानकारका अनुसार न्वाघर, सेटी गाउँ र बजाडीबाट देउरो आएर पूजा गरिने र जाँतको दिन विभिन्न गाउँबाट मष्टा भगवती मन्दिरमा चलो आउने परम्परा रहिआएको छ । मष्ठाजाँत उग्रतारा मेला देहिजाँतको ठिक एक महिना पछि हुने गर्छ ।
डडेल्धुरामा वर्षको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुरा लगायत सुदूरपश्चिमका अधिकांश स्थानबाट स्थानीय पुग्ने गरेको छन् ।








प्रतिक्रिया राख्नुहोस्