हेरचाह केन्द्र सञ्चालनमा ल्याउने कागेश्वरी–मनोहरा नपाको घोषणा
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि तत्काल २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँको थलीस्थित नगरपालिकाको कार्यालयमा आज मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले चालु आर्थिक वर्ष भित्रै २५ जना क्षमताको हेरचाह केन्द्र सञ्चालनमा ल्याउने बताउनुभयो ।
नगर प्रमुख कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई दक्षता अनुसारको काम सिकाउँदै रोजगारी सहित समाजमा सम्मानपूर्ण जीवन जिउन सक्ने वातावरण निर्माणमा नगरपालिकाले ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेनुका पौडेलले सार्वजनिक सेवाका क्षेत्रहरूमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमताले भ्याउनेसम्मको कामका लागि अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापति पौडेलले नगरपालिकाले शैक्षिक एवम् सार्वजनिक सेवाका कार्यालयहरूलाई अपाङ्गता मैत्री बनाउनु पर्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट विरोध खतिवडा र तारावदन सेंडाइले स्वास्थ्योपचार र सामाजिक सुरक्षाका लागि विशेष नीति आवश्यक रहेको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्