तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनको जोखिममा रहेका समुदायका लागि जीविकोपार्जन कार्यक्रम कार्यान्वयन

बाजुरा । जलवायु परिवर्तनको जोखिममा रहेका समुदायका लागि बाजुरा र बझाङ जिल्लाका स्थानीय तहमा जलवायु उत्थानशील भू-परिधि तथा जीविकोपार्जन कार्यक्रम कार्यान्वयन भएको छ ।

जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल सरकार र एसियाली विकास बैङ्कको साझेदारीमा दुवै जिल्लामा कार्यक्रम कार्यान्वयन भएका हुन् ।

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठका अनुसार वन तथा वातावरण मन्त्रालय र वन तथा भूसंरक्षण विभागले ती जिल्लामा कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । बाजुराका नौ स्थानीय तह र बझाङको जयपृथ्वी नगरपालिका, छबिसपाथिभरा, मष्टा र तलकोट गाउँपालिकामा आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुनेछन् ।

स्थानीय तहमा खानेपानी, कृषि, वन, पर्यटन, पूर्वाधारलाई केन्द्रमा राखेर एकीकृत जलाधार व्यवस्थापन, जलवायु अनुकूलन भूस्खलन न्यूनीकरण साथै वृक्षारोपणसहित हरित आयआर्जनका कार्यक्रम सञ्चालन गरिने छन् ।

प्रवक्ता श्रेष्ठले पानीको श्रोत संरक्षण, व्यवस्थापन, बहुआयामिक उपयोग, व्यवस्थापन, भूमिगत जल भण्डारणको संरक्षण, कृषि वन प्रणाली, भू–उत्पादकत्व वृद्धिसँगै पिछडिएका समुदायको जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

भू तथा जलाधार कार्यालयका अनुसार जलवायु परिवर्तनका कारण कृषि, पानीको आपूर्ति र खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव परेको छ । विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरू, दलित, आदिवासी जनजाति र आर्थिक रूपमा पिछडिएका समुदाय बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button