सिमावर्ती क्षेत्रमा अवैध गतिविधि बढ्दो: सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी तीव्र भएको स्थानीयको गुनासो
रौतहट । रौतहटका विभिन्न सीमावर्ती नाकामा अवैध गतिविधि तीव्र रूपमा बढ्दै गएसँगै जिल्लाको सीमा व्यवस्थापन र निगरानी संयन्त्रलाई पुनःसमिक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीयदेखि प्रदेशस्तरका सुरक्षासंरचनाबीच आवश्यक समन्वय कमजोर बन्दै जाँदा तस्करी र अवैध कारोबार निर्बाध रूपमा फैलिएको हो ।
इशनाथ नगरपालिकाअन्तर्गत महुलिया, बन्जरहा, चमारटोल तथा परोहा नगरपालिकाको नरकटिया र बौधिमाइ नगरपालिकाको बंकुल नाकाबाट खुलेआम तस्करी भइरहेको स्थानीय बासिन्दाहरूले बताएका छन् । सीमा क्षेत्रबाट हुने राजश्व चुहावट रोक्न खटाइएका सशस्त्र प्रहरीले छुट दिएको आरोप समेत स्थानीयहरूले लगाउँदै आएका छन्। सुरक्षानिकायका केही अधिकारीहरूले राजपुरका खुर्सैद आलम, रइस मिया र चन्द्रनिगाहपुरका सुनिल जयसवाललगायत केही व्यक्तिहरूलाई ‘लइन’ दिएको आरोप पनि सार्वजनिक भएको बताइन्छ।
स्थानीयका अनुसार साधारण नागरिकलाई दिनमा कडा निगरानी गरिने तर राति मोटरसाइकल तथा अन्य सवारीसाधनमार्फत तस्करीका सामान सजिलै नाकाबाट छिर्ने गरेको छ। एक स्थानीयले भन्नभयो, “हामीले ल्याउने सामान्य किराना सामानसमेत चेक गर्छन्, तर राति हुने तस्करी रोकिने कुनै व्यवस्था छैन।” यसले सुरक्षा निकायप्रति जनविश्वास कमजोर हुँदै गएको जनाइएको छ।
गौरको मुख्य नाका हुँदै भित्रिने सामान भन्सार रोडका निजी घरमा थुपारिनु र त्यहीँबाट जिल्लाभर वितरण भइरहनुलाई प्रभावकारी अनुगमन अभावको परिणाम भएको व्यापारीहरूले बताउनुभयो। यसले ‘अनौपचारिक सप्लाई चेन’ अझ सक्रिय बनेको र वैध व्यवसायमाथि अनुचित प्रतिस्पर्धा बढेको भन्दै व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय स्रोतका अनुसार तस्करीमा संलग्न समूहहरूले तल्लो तहदेखि उच्च सुरक्षा अधिकारीसम्म मासिक रकम बुझाउने गरेको आरोप छ। प्रस्तावित गुल्म गौर भन्सारका डिएसपी तथा भन्सार सुरक्षा चौकीका इन्चार्जको मिलेमतोमा मुख्य नाका हुँदै तस्करी जारी रहेको दाबी पनि गरिएको छ। गौरमा खटिएका सशस्त्र प्रहरी डिएसपीकै संलग्नतामा केही व्यक्तिहरूले भारतमा थुप्रिएका लाखौँ नेपाली रुपैयाँ अवैध रूपमा दैनिक भित्र्याइरहेको आरोप पनि स्थानीयहरूले लगाएका छन्।
तर सुरक्षा अधिकारीहरूले सबै आरोप अस्वीकार गर्दै आफूहरू तस्करी रोक्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ। रौतहटमा बढिरहेको तस्करी गतिविधिले जिल्लाको सीमा सुरक्षा, प्रशासनिक संयन्त्र र आगामी निर्वाचनको संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्