कोहलपुरको हुलास खाद्य उद्योगमा ९१ बोरा म्याद नाघेको आँटा बरामद
बाँके । बाँकेको कोहलपुर–१४ स्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा आँटा फेला परेपछि नियामक निकायले तत्काल नष्ट गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले उद्योगभित्र ठूलो मात्रामा म्याद सकिएको पिठो भेटिएको पुष्टि गरेको हो ।

उद्योगले विवरण दिएअनुसार ती बोराहरूको मूल्य करिब दुई लाख ३६ हजार नौ सय रुपैयाँ बराबर पर्छ। अनुगमन टोलीको उपस्थितिमै सबै बोरा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार आँटा उत्पादनका क्रममा अत्यधिक धुलो उड्ने, किरा पर्न सक्ने सम्भावना देखिनुजस्ता कुरामा पनि उद्योगलाई सचेत गराइएको छ। उहाँले भन्नुभयो,“यस्ता अवस्था देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन निर्देशन दिइएको छ ।,”
कार्यालयले नियमित रूपमा बजार तथा उद्योग अनुगमन जारी राखेको उल्लेख गर्दै प्रमुख पोखरेलले विषादीयुक्त तरकारी, अखाद्य वस्तु तथा म्याद नाघेका खाद्य पदार्थबारे कडा निगरानी राखिएको बताउनुभयो ।
कोहलपुर क्षेत्रका उपभोक्तामा यस घटनाले खाद्य सुरक्षा विषयप्रति नयाँ चासो र सचेतना थपिएको देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्