तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली काँग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने कार्य तालिकासहितको निर्णय गरेको हो ।

आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबारको कांग्रेस बैठकमा सहमति जुटेको हो । पार्टीभित्र संस्थापन र इतर पक्षबिच आमनिर्वाचन अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस जारी थियो ।

महाधिवेशनको तालिकाअनुसार काँग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमा समेत उपयोग गर्ने जनाएको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समयबमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस अब महाधिवेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छाैँ र हामी मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ । यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ ?, अहिलेका घटनाक्रमलगायतलाई कसरी बुझ्न चाहन्छ ?, कसरी बुझ्दछ ? र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ बनाउन चाहन्छ ? भन्ने सन्देश पनि दिन चाहन्छौँ ।” महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पु¥याउन विश्वास व्यक्त गर्नुभयो ।

महाधिवेशनको कार्यतालिकामा रहेको समयको चापलाई मध्यनजर गरी युद्धस्तरमा काम गर्ने उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो । बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ ।

मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आगामी पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी पुस १६ गते गाउँ÷नगर वडा अधिवेशन, पुस १७ गते गाउँ÷नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २३ र २४ गते सातै प्रदेश अधिवेशनका गरिने तालिकामा उल्लेख छ ।

काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीका लागि तथा प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) सदस्यको निर्वाचन तर्फका लागि प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहितको परिपत्र गर्ने निर्णय गरेको छ । कावा सभापति खड्काले सभापति शेरबहादुर देउवाको निर्देशन र सुझावअनुसार विभिन्न बैठक, छलफल र प्रयत्न पश्चात् भएको सहमतिले नै मुलकको अहिले प्रतिकूल अवस्था र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थामा एकताबद्ध भएर निर्णय गर्न सफल भएको उल्लेख गर्नुभयो । कावा सभापति खड्काले लामो छलफल र बहसपछि महाधिवेशनमा सर्वसम्मति भएको बताउँदै अब सबै मिलेर १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र निर्वाचनमा होमिन सबैलाई एकताबद्ध भएर कसरी अगाडि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न अहिलेको मुलुकको प्रतिकूल अवस्थाको नेतृत्व गर्नसक्ने क्षमता प्रस्तुत गर्नका लागि बैठकमा भएको सहमतिले सकारात्मक सन्देश गएको छ । वर्तमान परिस्थितिको सामना गर्न त्यसको नेतृत्व गर्न र सबै राजनीतिक दलहरूसँग संवाद गर्दै अहिलेको महत्वपूर्ण जिम्मेवारीलाई सम्पन्न गर्नका लागि कांग्रेस प्रतिबद्ध छ, पार्टीमा भएको सर्वसम्मतिले कांग्रेस एकढिक्का छ भन्ने सन्देश गएको छ ।” जेनजी आन्दोलनपछि गत असोज २८ पहिलो पटक बसेको कांग्रेसको बैठकमा सभापति देउवाले स्वास्थ्यको कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आफ्नै निवासमा साङ्घातिक हमलामा परी गम्भीर घाइते हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button