तपाईँ सुन्दै हुनुहुन्छः

रसुवामा शल्यक्रियासहितको उपचार सेवा विस्तार

रसुवा I विकट पहाडी जिल्ला रसुवामा विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण र औषधिको व्यवस्था भएसँगै जिल्लावासी खुसी छन् ।

अशिक्षा र अन्धविश्वासका कारण धामी–झाँक्री प्रथालाई विश्वास गरी स्वास्थ्य उपचारका अभावमा परिवारका सदस्य गुमाइरहेका रसुवावासी अहिले अस्पतालमा लामबद्ध देखिन्छन् ।

जिल्लास्थित स्वास्थ्यकर्मीका अनुसार विभिन्न अस्पताल, स्थानीय सरकार, विद्यालय, राजनीतिक पार्टी, नागरिक समाज र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको पहलमा अस्पताल जाने क्रम वृद्धि भएको हो ।

यसै सन्दर्भमा जिल्ला अस्पताल रसुवाले गत साउनदेखि कात्तिक महिनासम्म दुई हजार ९३५ जनाको स्वास्थ्य उपचार गरेको छ । सोही अवधिमा ५७ जना ज्येष्ठ नागरिकलाई सेवा दिएको सो अस्पतालले ३७६ जनाको दन्तजन्य रोगको उपचार गरेको र जटिल प्रकृतिका ८० जना बिरामीलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ ‘रेफर’ गरेको जनाएको छ ।

सामान्यदेखि निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको सो अस्पतालले ४५९ जनाको एक्स–रे, २८१ को अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) र २०० जनाको इसिजी सेवा प्रदान गरेको सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सो अस्पतालले ११ हजार ७१६ जनालाई उपचार सेवा प्रदान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट टङ्ककुमारी भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाको सहयोगमा रसुवामै  सञ्चालित अस्पतालले शल्यक्रियासहित जटिल प्रकृतिका रोगको उपचार गर्न थालेपछि जिल्लावासी खुसी भएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ । अध्यक्ष तामाङका अनुसार विशेषज्ञ चिकित्सक अभावमा काठमाडौँ जान बाध्य रसुवावासीलाई पछिल्ला दिनमा जिल्लामै विभिन्न अस्पतालसहित चिकित्सक, औषधि र स्वास्थ्य उपकरणको व्यवस्था भएपछि राहत मिलेको छ ।

विदेशीको सहयोगमा सञ्चालित सो अस्पतालले गत वर्ष ३९ महिलाको सफल शल्यक्रिया गरी सुत्केरी स्याहार संरक्षणमा सहयोग पु¥याएको, आठ जनाको हर्निया र १८ जनाको एपेन्डिससँग सम्बन्धित उपचार गरेको तथा उल्लेख्य सङ्ख्याका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेको जनाएको छ ।

उच्च हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन अस्पताल एवम् नागरिक समाजका तर्फबाट अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button