एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र
राँझा ,बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत् २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताउनुभयो । पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्द गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वान गरेको छ ।
पुरानो निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्ने देखिएपछि ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले बताउनुभयो ।
सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको उहाँको भनाइ छ । उहाँका अनुसार, खजुरा खण्डमा बाँकी रहेको सडक निर्माणका लागि करिब रु १० करोडको लागत लाग्ने अनुमानसहित ठेक्का आह्वान गरिएको छ । नेपालगञ्ज–गुलरिया सडक विस्तार र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेसँगै अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले विशेष चासो देखाएको हो ।
बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुवै सडक नयाँ प्रक्रियाबाट छ महिनाभित्र काम सम्पन्न गर्नेगरी लागिपरेको उहाँको भनाइ छ ।
हुलाकी राजमार्गले नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले त्यसको बीचमा अलपत्र परेको खजुरा सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का सम्झौताअनुसार सडकको बाँकी काम आगामी असार १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ । यससँगै अब खजुरा बजारका स्थानीय बासिन्दाको लामो समयदेखिको अधुरो सडक निर्माण हुने अपेक्षा बढेको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्