बाँकेमा एक वर्षमै ८० नयाँ एचआईभी संक्रमित थप, रोकथाम तथा उपचारमा समुदायको भूमिका अपरिहार्य
बाँके । बाँकेमा पछिल्लो एक वर्षमा ८० नयाँ एचआईभी संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकलपर्सन रविन्द्र कुमार साहका अनुसार ८ हजार ६९७ जनामा गरिएको परीक्षणबाट यी नयाँ संक्रमित पहिचान भएका हुन्।
यसैबीच, ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (पीएमटिसिटी) कार्यक्रमअन्तर्गत २८ हजार २३४ गर्भवती महिलाको परीक्षणमा भने कुनै नयाँ संक्रमित भेटिएको छैन।
भेरी अस्पतालमा हाल ६१३ जना एचआईभी संक्रमितले नियमित रूपमा एआरटी सेवा उपयोग गर्दै आएका छन्। रोकथाम र उपचार कार्यलाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता अत्यावश्यक बन्दै गएको साहको भनाइ छ।
उनका अनुसार संक्रमण रोकथाम, गुणस्तरीय सेवा विस्तार, समुदायमा कायम रहेको कलंक–भेदभाव न्यूनीकरण तथा संक्रमितको जीवनस्तर सुधारजस्ता क्षेत्रमा अझै चुनौती कायम छ। संक्रमितलाई आत्मनिर्भर बनाउन जीविकोपार्जन कार्यक्रमलाई मजबुत बनाउनुपर्ने सुझाव पनि उनले दिए।
अभियन्ताहरूले एचआईभी–एड्स नियन्त्रणका लागि स्थानीय सरकारले अझ जिम्मेवार, संवेदनशील र सक्रिय भई काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सबै तह–तप्काको सहकार्यबिना संक्रमण नियन्त्रण सम्भव नहुने उनीहरूको धारणा छ।
नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सूईद्वारा लागूपदार्थ सेवन गर्ने व्यक्ति, यौनकर्मी, जेलका कैदी, पुरुष समलिंगी तथा तेस्रोलिंगी समुदायका व्यक्ति, र विदेश जाने श्रमिकहरू परेका छन्। अध्ययनहरूले तीमध्ये सूई प्रयोगकर्ता तथा पुरुष समलिंगी यौनकर्मीहरूमा संक्रमणदर अझै उच्च रहेको देखाएका छन्।
यस वर्ष ३८औँ विश्व एड्स दिवस ‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नाराका साथ मनाइँदैछ। दिवसका अवसरमा नेपालगन्जमा प्रभातफेरीसहित विभिन्न सन्देशमूलक कार्यक्रम आयोजित भएका छन्।
विशेषज्ञहरूका अनुसार समयमै परीक्षण, नियमित उपचार, सुरक्षित व्यवहार र समुदायको सहयोगको संयोजनले मात्र बाँकेसहित देशभर एचआईभी संक्रमण घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।








प्रतिक्रिया राख्नुहोस्